बाँचे विद्यालय पुगिन्छ, न्वाघरीमा बगे सेतीमा विलय भइन्छ
बैतडी | भदौ २१, २०८०
बैतडी: पश्चिम सेतीमा मिसिने न्वाघरी नदी तर्ने पुल नहुँदा ज्यानको बाजी लगाएर विद्यार्थी नदी तर्दै विद्यालय जान बाध्य छन् । बाँचे विद्यालय पुगिन्छ, न्वाघरीमा बगे सेतीमा विलय भइन्छ ।
न्वाघरी नदीले विद्यार्थीका कयौँ सपना बगाइसकेको छ । न्वाघरीले बगाउँदा हालसम्म तीन जनाको ज्यान गइसकेको छ । यो पीडा सिगास गाउँपालिका–७, साङडा र थलार गाउँका विद्यार्थीको हो ।
सिगास–७, साङडा र थलार गाउँमा कक्षा ३ सम्मको मात्र विद्यालय भएकाले माथिल्लो कक्षा पढ्न यहाँका ४० भन्दा बढी विद्यार्थी न्वाघरी नदी तरेर करिब एक घण्टाको दूरीमा रहेको सिगास–६, को गणेश माविमा धाउँदै आइरहेका छन् ।
विद्यार्थीलाई सोही गाउँकी शिक्षिका लक्ष्मी चन्दले नदी तराएर गणेश मावि लैजाने र ल्याउने काम गर्दै आउनुभएको छ । शिक्षिका चन्द गणेश माविमा अध्यापन गराउने भएकाले विद्यार्थीको सहारा बन्नुभएको छ । पुलका लागि पटक–पटक माग गरे पनि दुर्गममा बस्नेको कुरा कसैले नसुनेको शिक्षिका चन्दले पीडा सुनाउनुभयो ।

नदी तर्ने स्थानबाट माथि हेरे मौरा भीर देखिन्छ, जहाँबाट हालसम्म दुई जनाको लडेर मृत्यु भइसकेको छ । न्वाघरीगाडमा बगेर तीन जनाको मृत्यु भइसकेको छ । भीरमा हिँड्ने बाटो छैन, नदी तर्ने पुल नहुँदा यहाँका विद्यार्थी हरेक दिन नदीमा हेलिदैं विद्यालय आवत–जावत गर्न बाध्य छन् ।
२०३२ सालमा स्वीकृति पाएको गणेश माविमा हाल १५० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक कालुसिंह साउदले बताउनुभयो । ४० जना विद्यार्थी सधैँ नदी तरेर विद्यालय आउनेगरेको उहाँले बताउनुभयो ।
संयोगले साङडा गाउँकै शिक्षिका लक्ष्मी चन्द गणेश माविमा अध्यापन गर्ने भएकाले उहाँको काँधमा अध्यापनसँगै विद्यार्थीलाई नदी तार्ने जिम्मेवारीसमेत रहेको प्रधानाध्यापक साउदले बताउनुभयो । पुलका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारका जनप्रतिनिधिसँग माग गरे पनि कुनै सुनुवाइ नभएको उहाँले बताउनुभयो । बैतडीको सिगास गाउँपालिका अहिलेसम्म यातायातसँग जोडिन सकेको छैन । बर्सेनि यहाँ न्वाघरीगाड र सेती नदीको बाढीले घरखेत र हिँडने बाटो बगाउने गरेको छ । यो खबर आजको गोरखापत्र अनलाइनमा प्रकाशित छ ।
पोखरा: कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अखिल ने...
पाेखरा: कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ । सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले...
पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिक...

